खुला सिमाना र मधेस

September 4, 2006 at 11:25 am 1 comment

खुला सिमाना र मधेस

बृषेशचन्द्र लाल

पूर्व, पश्चिम र दक्षिणको खुला भारतीय सिमानाका कारण मधेसमा भारतीयहरूको निर्बाध प्रवेश भइरहेको  हाउगुजी फैलाउने काम नयाँ होइन । यसबाट धेरै लाभ कमाउन सकिन्छ- भारत विरोधीहरूसँग आ.स. पाउन सकिन्छ, राष्ट्रवादिताको तक्मा पाउने अवसर बढ्छ, छिटै चर्चित भइन्छ आदि-आदि । यस्तो प्रचार-प्रसारबाट यस्ता कार्य गर्नेहरूको पर्दाभित्रको साम्प्रदायिकताको केही हदसम्म तुष्टि हुन्छ तथा विगत २३७ बर्से शाहवंशीय शासनमा सहभागी रहेकाहरूको वर्चस्ववादी नियत र मधेसलाई देश होइन उपनिवेश ठानेर दबाउने नीतिको पोषण हुन्छ । त्यसैले यस्तो काममा पञ्चायती शासकहरूको इसारामा डा. हर्क गुरुङजस्ता व्यक्तिहरूको पनि संलग्नता रहँदै आएको छ ।नेपालको सम्पूर्ण जनसंख्यालाई राजनीतिक, आर्थिक र सामाजिक अवसरहरूको उपलब्धताको आधारमा तीन भागमा बाँड्न सकिन्छ – सेतामगुराली र दलित जनजाति -२९), मधेसी -३३) तथा ब्राऽमण, क्षेत्री-खत्री र नेवार -३५) । सरकार चलाउने, योजना बनाउने, कर्मचारी तन्त्र सञ्चालित गर्ने, बजेटको निर्माण, निकासा र खर्च दिने, न्याय सम्पादन गर्ने, सञ्चार माध्यम, विदेशी नियोगमा कार्यआदि सबै स्थानमा दलित र जनजातिको अत्यन्त न्यून र मधेसीको नगण्य सहभागिता छ । यस्तो स्थिति २३७ बर्से बदनियत र त्यो शासनको दुष्परिणाम हो । २००७ सालको क्रान्तिपछि पनि यस कूटनीतिमा कुनै परिवर्तन आएन । अवसरका सबै क्षेत्रमाथि कब्जा गरेर बस्नेहरू मधेस र पहाडी, दलित एवं जनजाति यसकारणले न नजिकिउन्, कुनै मोर्चा नबनोस् भनेर मधेसीहरू यस भूखण्डका हुँदै होइनन् भन्ने प्रचार- प्रसार गर्दैै आएका छन् । डा.गुरुङहरूको प्रयोग यसै अभीष्टका लागि गरिएको हुनुपर्छ ।

अहिले २०६३ को अभूतपूर्व जनविद्रोहपछि मधेस र पहाडका दलित तथा जनजाति जाग्दै आएकोले नेपाली जनसंख्याका यी दुवै अंगहरूमा बढ्दै गएको निकटता तुहाउन र राज्यको संघीय पुनसर्ंरचनाको मागबाट देशको ध्यान हटाउन उही खुला सिमानाको पुरानो राग बजाउन थालिएको छ । खुला सिमानाको कारण दर्शाई मधेसमा भारतीयहरूको प्रवेशलाई अतिरञ्जित गरी प्रस्तुत गरेर मधेसको सम्पूर्ण जनसंख्यालाई भारतीय भएको भ्रम पार्ने काममा केही व्यक्तिहरू लागेका छन् । यस्ता व्यक्तिहरूले मधेसको इतिहासलाई गम्भीरतापूर्वक हेर्ने प्रयास गर्नु बढी उपयुक्त हुनेछ । मधेसको बसोबास ५०- १०० वा ५०० वर्षको होइन । मधेस अपरिचित बालिकाको रूपमा प्रकट भएर पनि जगज्जननी भएर पूजित रहेकी सीता, गार्गी, विदेह जनक, याज्ञवल्क्य, त्रेतायुगमै गीता दिने अष्टावक्रको जन्मभूमि हो । पौराणिक कालभन्दा पछाडिको  कुरा गर्ने हो भने २५०० वर्ष पहिले मधेसका राजकुमार सिद्धार्थ गौतमले बुद्धको रूपमा दुनियाँलाई शान्तिको सन्देश दिएका हुन् । पुरातात्त्विक प्रमाणतर्फ जाने हो भने मधेसको बुटवलमा पाइएको प्राग् ऐतिहासिक युगको  १ करोड दस लाख पुरानो मानव अवशेषलाई लिन सकिन्छ, नेपी पिथेकस भनिने बुटवल मान्छे एसिया महादेशकै सबभन्दा पुरानो मानव अवशेष हो । नवलपरासीको चुरियामा पाइएका ढुङ्गे बज्र हतियारहरू करिब ४०,००० वर्ष पुराना छन्  भन्ने कुरा डोरबहादुर बिष्टले उल्लेख गर्नु भएको छ । यस्तोमा वर्तमान नेपाली भूखण्डको सन्दर्भमा भन्ने हो भने मधेसको बसोबास सबभन्दा पुरानो रहेको प्रमाणित हुन्छ । त्यस्तै पहाडमा सबभन्दा पुरानो इतिहास किराँतहरूको छ । महाभारतकालमा किराँतेश्वर महादेवको अर्जुनसँग युद्ध भएको थियो र किराँतेश्वरले अर्जुनलाई दिव्य धनुष प्रदान गर्नु भएको थियो ।

खुला सिमाना भएकोले भारतीयहरू नेपालमा आएका छन् र आउँदैछन् तर त्यसको कैयन् गुणा बढी भारतमा सरेका छन्, सर्दैछन् र काम गर्छन् । यसरी सर्ने र काम गर्नेहरूमा मधेस र पहाड दुवैतिरका नेपाली छन् । किनभने भारतको तुलनामा नेपालमा रोजगार र कामका अवसर कम छन्, स्वभावतः भारतबाट नेपाल आउनेहरूको संख्या कम छ । अपराध वा कुनै अन्य कारणवश भारतमा बस्न मुस्किल हुनेहरू अथवा नेपाललाई आवश्यक परेर सीपमूलक कार्यका लागि झिकाइनेहरू नेपालमा आएर बस्छन् । अन्यथा नेपालमा सरेर नागरिक बन्न खोज्नेहरूको संख्या कमै छ । मधेसका गाउँ एकै स्थानमा जोडिएका घरहरूले बनेको छ । रहनसहन, भेषभूषा, भाषा आदिमा एकरूप भए पनि बाहिरिया एकजना ग्रामीणहरूको नजरबाट लुकेर बस्न सक्दैनन् । वर्मा, अफगानिस्तान, कश्मीर वा भूटानको एक जना मधेसमा खप्न सक्नु असम्भवै छ । यही कारण हो जसले गर्दा खुला सिमाना भएर पनि भारत विरोधीहरू मधेसको ग्रामीण इलाकालाई प्रयोगमा ल्याउन सकेका छैन् । यिनीहरू नेपालका भित्री सहरहरूमा शरण लिन्छन् । त्यसकारण र अवसरको कमीका कारण पनि भारतबाट आउनेहरू मधेसका गाउँहरूमा बस्दैनन् । तिनी सहरमा बस्छन् र प्रशासन तथा शासक वर्गको जानकारी र घनिष्ठ सम्पर्कमा रहन्छन् । आफ्ना गतिविधिहरू त्यहीँबाट सञ्चालित गर्छन् । त्यसकारण मधेसको जनसंख्यालाई खुला सिमानासँग गाँसेर तथा नागरिकता प्रमाणपत्र विहीन पारेर आफ्नै नागरिकलाई अपमानित गर्ने, तिनलाई शिक्षा, रोेजगार, व्यवस्ाायलगायत अन्य राजनैतिक अधिकारहरूबाट वञ्चित गर्ने राज्यको अहिलेसम्मको नीतिलाई बलियो बनाउने कार्य घोर अपराध हो ।

नेपालन्युजमा केही दिन पहिले डा. उपेन्द्र गौतमले यस सम्बन्धमा लेख्नु भएको एउटा लेखमा नेपाल-भारतको खुला सिमानाबाट विदेशीहरूको प्रवेशसँग सम्बन्धित एकदम निराधार कुराहरू ठेल्दै भ्रम सृजनाको जानाजान प्रयास गर्नु भएको छ । वहाँका अनुसार कश्मीर विवादको क्रममा यस खुला सिमानाका कारण नेपालको मधेसमा मुसलमानहरूको प्रवेश भयो अरे ! त्यसपछि १९६० मा वर्माबाट, १९७०मा बाङ्गलादेशबाट, सोभियत हस्तक्षेपपछि अफगानिस्तानबाट, पञ्जाब अलगाववादीहरू पंजाबबाट, तमिल संघर्षका कारण श्रीलंकाबाट नेपालमा मधेस भएर विदेशीहरूले प्रवेश गरे भन्ने डा. गौतमको भनाइ छ । नेपालको मधेसमा कुनै कश्मीरी, वर्मेली, अफगान, तमिल वा पञ्जाबी खप्न सक्दैन भन्न्ो कुरा डा. गौतमलाई सायद थाहा छैन । एक त उल्लेख्य संख्यामा यस्तो प्रवेश नै भएको छैन किनभने नेपालभन्दा कुनै कश्मीरी, वर्मेली, अफगान, तमिल वा पञ्जाबी विशाल क्षेत्रफल र जनसंख्या भएको भारतमै लुकेर बस्न सक्छन् अथवा सजिलै त्यस समाजमा मिसिन सक्छन् । भारत विरोधी गतिविधि सञ्चालित गर्ने मनसायले अथवा अन्य कुनै कारणवश यदि थोर बहुत संख्यामा विदेशीहरूको प्रवेश पनि भएको छ भने त्यस्ता विदेशीहरू सामान्यतया काठमाडौंकै जनसंख्यामा मिसिएका छन् र तिनको संरक्षण सरकार तथा प्रशासनमा रहेकाहरूबाट भएको छ ।

यस्ा सन्दर्भमा एउटा कुरा अरू महत्त्वपूर्ण छ । नेपालको प्रजनन दरलाई एक पटक नियालेर हेरौं । १९९१ ताका नेपालको कुल प्रजनन दर ५.१६ प्रतिशत थियो र त्यतिखेर पहाडमा ५.९३, मध्य पहाडमा ५.३३ र मधेसमा ४.७२ प्रतिशत प्रजनन दर गणना गरिएको थियो । २००१ को गणना अनुसार देशको कुल प्रजनन दर ४.५७ तथा पहाड, मध्य पहाड र मधेसमा क्रमशः ३.७९, ३.७७ तथा ३.६४ प्रतिशत थियो । यो प्रवृत्ति अनुसार मधेसभन्दा पहाडको जनसंख्या वृद्धि दर बढी हुनुपर्ने हो तर १९९१-२००६ को अवधिमा देशको कुल जनसंख्या दर २.२५ तथा पहाड, मध्य पहाड र मधेसको क्रमशः १.५७, १.९७ र २.६२ रहेको देखिन्छ । मधेसको प्रजनन दर कम भएर पनि त्यहाँको जनसंख्या वृद्धि दर बढेको छ । स्पष्ट छ, मधेसमा पहाड र मध्य पहाडबाट बसाईं सर्नेहरू बढ्दैछन् । मधेसको जनसंख्या बढ्नुको कारण यो बसाइसराइ हो । किनभने पहाड र मध्य पहाडबाट बसाइँ सर्नेहरू गाउँमा होइन सहरमा बस्ने गर्छन् त्यसकारण मधेसको ग्रामीण क्षेत्र र सहरी क्षेत्रको जनसंख्याको अलग-अलग विश्लेषण गर्ने हो भने यो तथ्य अझ प्रमाणित भएर आउनेछ । १९७१ तिर लगभग आधी सहरी जनसंख्या काठमाडौंमा बसोबास गथ्र्यो तर २००१ मा यसको प्रतिशत ३०.९ प्रतिशतमा झरेको छ भने मधेसका शहरहरूमा शहरी जनसंख्याको बसोबास ४५.५ प्रतिशत भएको छ । यसबाट बसाइ सर्नेहरू महँगो काठमाडौंभन्दा मधेसतिर आकृष्ट भएको देखिन्छ । पहाडबाट मधेसतिर बसाइ सराइको यो प्रवृत्ति १९९१-२००१ को दशकमा विभिन्न कारणवश अलि कम भएको हुनाले १९९१ भन्दा २००१ मा पहाडको प्रजनन दर कम भए पनि जनसंख्या दरमा भने वृद्धि भएको थियो ।

२००७ सालदेखि नै हरेक लोकतान्त्रिक जनविद्रोह र आन्दोलनहरूमा मधेसको प्रमुख भूमिका रहने गरेको छ । प्रत्येक लोकतान्त्रिक परिवर्तनपछि मधेसीहरू आफूप्रतिको व्यवहार, धारणा र राज्यको नीतिमा अपेक्षित दृष्टिकोणको विश्वास लिएर आगाडि बढ्ने प्रयास गर्छन् । तर वर्चस्ववादी दृष्टिकोण र प्रगतिशीलताको छद्मवेशमा लुकेर काम गर्ने प्रतिक्रियावादीहरूको षड्यन्त्रले केही हुन पाउँदैन । यस्तै निराधार तर्कहरूले मधेसीहरूलाई तिनको मौलिक हक र राज्यबाट पाउनु पर्ने नैसर्गिक अवसरहरूबाट वञ्चित गराइन्छ । हाम्रा सखासन्तानहरू अमेरिका, कनाडा, अस्ट्रेलिया वा युरोपीयलगायत अन्य देशमा पुग्ने बित्तिक्कै त्यहाँको स्थायी बसोबासको प्रमाणपत्र प्राप्त गरेर पछि त्यहीँको नागरिक बन्न्ा गरिने प्रयासलाई हामी जायज र उचित ठान्छौं भने खुला सिमाना भएकै कारणले यदाकदा कुनै विदेशी नेपालमा आएर आफ्नो सीप र क्षमतामा कुनै कारोबार सञ्चालित गरेका छन् र यहाँको स्थायी बासिन्दा बन्न चाहन्छन् भने त्यसमा के को आपत्ति ?!

विदेशीहरूको नेपाल प्रवेश नियन्त्रित र व्यवस्थित हुनुपर्छ । यसका साथै यहाँको आन्तरिक बसाइसराइ पनि त्यत्तिकै नियन्त्रित र व्यवस्थित हुनु आवश्यक छ । उपयुक्त हुन्छ भने नेपालको चारैतिर तारले घेरबार र आकाशमार्गमाथि कडा निगरानीको व्यवस्था गरे हुन्छ । तर समाधानको उपाय गर्दै नगरी मधेसका नागरिकहरूलाई तँ नागरिक होइनस् भनी प्रताडित गरी राख्नु घोर अन्याय हो जसबाट उत्पन्न हुने विद्रोहले भोलि नेपालको प्रगति र स्थायित्त्वमा ठूलो अवरोध खडा गर्ने निश्चित छ ।

यस समस्यालाई समाधान गर्न विभिन्न क्षेत्रमा कार्यरत मधेसीहरूको साझा मञ्च लोकतान्त्रिक मधेसी समाज जनकपुरले एउटा प्रस्ताव राखेको छ । समाजको अवधारणा-पत्रको साझा सहमतिको मुद्दाहरूको तेश्रो बुँदामा हालका वर्षहरूमा अति द्रुत गतिले भएको बसाइसराइका कारण पहाड र मधेसमा सामाजिक असन्तुलन र अस्वस्थकर प्रतिस्पर्धा दुःखद रूपमा वृद्धि भएको चर्चा गर्दै यसलाई नियन्त्रित गर्न नागरिकता र मतदानको अधिकार निश्चित गरिएको समय सीमाभन्दा पूर्व बसोबास गरिरहेको क्षेत्रमा  कायम गर्नुपर्ने सुझाव राखिएको छ । यसबाट उल्लिखित सन्तुलन कायम हुनुका साथै एकै जनाले विभिन्न स्थानबाट नागरिकता प्रमाणपत्र तथा मतदानको अधिकार पाउने गरेको समस्याको पनि समाधान हुनेछ तथा जनगणना र मतदाता नामावलीमा समेत शुद्धताको सम्भावना बढ्नेछ ।

Posted on: 2006-08-14

Source::http://www.kantipuronline.com/kolnepalinews.php?&nid=82806

Note:: You need Devnagri font to read this Article.

Advertisements

Entry filed under: Articles.

Rajendra Mahto Interview with KESHAB POUDEL के यो न्याय हो

1 Comment Add your own

  • 1. Basanta  |  November 21, 2008 at 1:47 am

    समस्याको विश्लेषण विस्तृत छ तर समाधानको रुपमा लेखकले राख्नुभएको अन्तिम परिच्छेद अस्पष्ट ढंगले टुंगिएको छ। समाधानका उपायहरुको बारेमा पनि अलि विस्तृत धारणा पढ्न पाईन्थ्यो कि?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 48 other followers


%d bloggers like this: