Case Study: Real problem II

September 12, 2006 at 11:52 am Leave a comment

A Case Study on Real problems in Terai

मधेसीको नागरिकता समस्या र ढल्केबरको घाम तपाई (२)

– महेश्वर श्रेष्ठ

“भो, चाहिंदैन मलाई त्यस्तो आनन्द । त्यस्तो आनन्द गर्ने भाग्य र मौका तपाईंलाई नै जुरिरहोस् ।” अब च्याँठिने पालो उनको थियो र भनिन्, “मानिसहरु गर्मीले प्याक-प्याक पर्न थालिसके । कोही विरामी पर्न थालिसके । भर्खर एघार बज्यो । चार बज्न अझै पाँच घण्टा बाकी छ । कसरि समय काट्ने हो । को को मानिस कति जरुरी कामले कहाँ कति बेला पुग्नु पर्ने होला । कस्तो फन्दामा फसियो बा ….. । कोही केही बोल्ने होइनन् । होइन, तपाईंले त गल्ती गर्ने मान्छे राजा नै किन नहोस्, अगाडि आउने साहस गरे उसलाई पनि हकार्छु भन्ने धक्कु लाउने गर्नु हुन्थ्यो नि । जानुस्, कसैसंग कुरा गरी त हेर्नुस् । केही उपाय त निकाल्नोस् । के लाटाले केरा हेर्या जास्तो हेरिराको ?”

क्या फसाद ! उखरमाउलो गर्मीमा अनाहक बीच बाटामा अलपत्र पर्नु परेकोले मानिसहरुको दिमागी सन्तुलन खल्बलिरहेको थियो । अरुका श्रीमतिहरुले आफ्ना श्रीमानहरुलाई के भनिरहेका थिए होलान् कुन्नि । उनले त मेरो पुरुषत्व र प्रतिष्ठालाई नै चुनौति दिइन् । अब केही नगरी सुखै थिएन । त्यस बेलाको मिथिला अनि आजकाल यही धनुषाका राजा जनककी छोरी सीताको स्त्रीहठले सुनको मिर्ग खोज्न रामचन्द्र जंगल तिर लागे जस्तै म पनि चक्काजाम फुकुवा गराउने उपायको खोजीमा धल्केबरको चौरस्ता तर्फ निस्कन त निस्कें तर गर्ने के ? कसलाई के भन्ने ? कसरि सम्झाउन ? अरु यात्रुहरुले आन्दोलनकारीहरुसंग धेरै अनुनय विनय गरिसकेका थिए । तर उनीहरु टसको मस भएनन् । भन्ने गर्थे, “पुस्ता दरपुस्ता हामी अनागरिक भएर बाँचिरहेका छौं । तपाईंहरु हाम्रो यो दुखमा आठ घण्टा पनि साथ दिन सक्नु हुन्न ?”

प्रश्नले मन छुन्थ्यो तर बेजिल्लाका हामी बटुवाहरुले नागरिकता जस्तो संवेदनशील विषयमा तत्काल के नै पो गर्न सक्थ्यौं र ? अब जिल्लाको प्रमुख प्रशासकलाई नै गुहार्नु पर्यो भन्ने ठानी नजिकको पिसिओमा फोन नम्बर सोधेर दर्जनौं पटक प्रजिअलाई कार्यालय र निवासमा समेत फोन गरें तर फोन व्यस्तको व्यस्तै रहृयो । बिजुली बत्ती झयाप्प निभ्दा विद्युत प्राधिकरण नो लाइट शाखाको फोन स्वतः व्यस्त भए जस्तै प्रजिअको फोन पनि स्वतः व्यस्त भएको होला भनी ठानेर उनलाई सर्म्पर्क गर्ने प्रयासलाई त्यागिदिएं । जिल्ला जिल्लामा सत्ताधारी पार्टीहरुको अघोषित अनुगमन समिति छ भन्ने बुझेको यस पंक्तिकारले पिसिओलाई थाहा भएसम्मको सबै जिल्ला नेताहरुलाई फोनबाट सर्म्पर्क गर्ने हर सम्भव प्रयास गर्यो । उनीहरुको घर र कार्यालयका फोनहरु प्रजिअको जस्तौ व्यस्त पाइयो । जिल्ला प्रहरी कार्यालयमा सर्म्पर्क गर्न खोज्दा त्यहाँको फोन पनि त्यस्तै व्यस्त थियो । मानौ त्यस दिन धनुषा जिल्ला भरी टेलिफोन सेवाको सिष्टम नै फेल भएको थियो ।

दिक्क लागेर पंक्तिकारको मुखबाट पनि अन्टसन्ट शव्द निस्कन थालेको थियो । झोंक उठेर अब केन्द्रमै फोन गर्ने मनसायले गृहमन्त्रीको सचिवलाई फोन गरें । उताबाट यो त दान बहादुर शाहीको घरको फोन भनेर जवाफ आउँछ । थुइक्क, आठ रुपिया बेकार मा गयो । फेरि अर्को नम्बरमा फोन गर्दा रंग नम्बर भन्ने जवाफ आउँछ । अर्को आठ रुपिया बेकारमा गयो । भएन अब मन्त्रपिरिषदको सचिवालयमै फोन गर्नु पर्यो भनी नम्बर लगाएं । उताबाट तपाईं को बोलेको ? कसलाई के भन्नु छ ? भनी सोध्दा आफ्नो नाम, काम र मुख्य सचिवलाई भेट्न खोजेको बताउँदा बल्ल यो त रंग नम्बर भन्ने जवाफ आउँछ । नम्बर सही थियो तर समस्याबाट पन्छिन मात्र रंग नम्बर भनिएको थियो । उसंग कुरा गर्दैमा दुई मिनेट समय गएछ । अर्को सोर्ह रुपियामा चुना लागी हाल्यो । “यहाँ कोही पनि केही जिम्मेवारी लिन तयार छैनन् । सब पुच्छर लुकाएर बसेका छन्, सालाहरु !” रीसले चूर पंक्तिकारको मुखबाट अनायास अपशब्दयुक्त वाक्य फुत्की हाल्यो । जिम्मेवार भनाउँदाहरुलाई फोन गर्ने प्रयासमा अर्को एक घण्टा बितेछ ।

पंक्तिकारले यसरि अनेक मानिसहरुलाई फोन गर्ने प्रयास गरिरहंदा एक झुण्ड मानिस उसका पछाडि जम्मा भएर अब के होला भन्ने कौतुहल सहित नियालिरहेका थिए । सायद उनीहरुले उसलाई पनि ‘ठूलै’ मान्छे ठानेर हो कि ‘माथिसम्म’ पहुँच भएको मान्छे ठानेर हो खुइय सुस्केरा हाल्दै अर्कै तिर बरालिन खोज्दा उनीहरु मध्ये तीन-चार जनाले “ए भाई, अब यतिकै कति बस्ने ? बालबच्चा र बुढाबुढीहरु बिरामी पर्न थालिसके । अब त आन्दोलनकारीहरुसंगै कुरा गर्नु पर्यो । नागरिकता नपाउनु उनीहरुको समस्या हो । हामीले त्यस्को सजाय किन भोग्ने -” भनी कराउन थाले । अरु बाकी बार्ह-पन्ध्र जनाले पनि “हो हो, हामीले किन सजाय भोग्ने । जाऔं, आन्दोलनकारीहरुसंग कुरा गर्न जाऔं ।” भनी हल्ला गर्न थाले । हल्लाले अरु मानिसहरुलाई पनि आकषिर्त गर्यो । एकै छिनमा पच्चीस-तीस जनाको ‘वार्ता टोली’ तयार भयो र बस तथा बाटामा सुस्ताइरहेका यात्रुहरुलाई पनि ‘जाऔं है जाऔं । वार्ता गर्न जाऔं ।’ भन्दै आन्दोलनकारीहरु एकत्रित भएको ठाउँ तर्फअगाडि बढ्यो ।

आन्दोलनकारीहरु एकत्रित भएको ठाउँसम्म पुग्दा ‘वार्ता टोली’ मा पचास-साठी जनाको हुल भइसकेको थियो । अलपत्र यात्रुहरु हुल बाँधेर आएको देखेर आन्दोलनकारीहरु सशंकित भएका देखिन्थे । बेन्चीमाथि उभिएर माइकमा बोलिरहेका ‘नेताहरु’ को पछाडि हातमा इंटका टुक्रा बोकेका र दायाँ बायाँ लाठी बोकेका सयौं मानिसहरु देखिन थाले । यसै बीच ‘वार्ता टोली’ मध्ये कसैले “पहाडे-मधिसे भाई-भाई । मधिसेलाई नागरिकता दे” भन्ने नारा लगायो । ‘वाता टोली’ का सबैले त्यस नारालाई जोडसित तीन-चार पटक दोहर्याइसके पछि एक जना मोटोघाटो यात्रुले “तपाईंहरुको आन्दोलनको र्समर्थनमा हामी चार घण्टा बढी घाममा बसिसक्यौं । अब अरु बस्न सक्तैनौ, गाहारो भयो । हामीलाई छोडिदिनोस्” मात्र के भनेका थिए आन्दोलनकारीहरु मध्ये कतिपयले एकै स्वरमा “यिनीहरु त पहाडे-मधिसे भाई-भाईको नारा दिएर हामीलाई चिप्लो घस्न पो आएका रहेछन् । हट्दैन, हट्दैन । चक्काजाम हट्दैन” भनी क्रोधयुक्त स्वरमा होहल्ला गर्न थाले । होहल्लाले राजमार्ग छेउछाउ छरिएर बसेका आइमाई बुढाखाडा आन्दोलनकारीहरुलाई पनि एकत्रित पार्यो । यात्रुहरुको भीड पनि बढ्न थाल्यो । कसले के बोले भन्ने केही ठेगान भएन । यसले यात्रुहरुको ‘वार्ता टोली’ को धैर्यको बाँध पनि छताछुल्ल भयो । कोही यात्रुहरु “तपाईंहरुले आजै नागरिकता पाउने ग्यारेन्टी भए चार बजे त के त्यसको खुसियालीमा आज रात भर तपाईंहरुसंगै बसेर भोज खाऔंला र भोली मात्र जाऔंला । लौ ल्याउनुस् ग्यारेन्टी” भनी कराउन थाले । आन्दोलनकारीहरु मध्ये कोही “हाम्रो दुखमा साथ नदिने तपाईंहरु के को दाजु भाई ?” भनी कराइरहेका थिए । कोही “धनीहरुको कुकुर मर्दा मान्छेहरु चक्काजाम गर्छन् । हामी गरीबहरु माथि यत्रो ठूलो अन्याय भइरहेको छ । हामीले चक्काजाम किन नगर्ने । नगरे त हाम्रो कुरा कसैले सुन्दै सुन्दैन । तपाईंहरु चार बजेसम्म बस्नुस् । त्यस भन्दा अगाडि चक्काजाम हट्दैन” भनी उर्दी जारी गरिरहेका थिए ।

जति भीड बढ्दै थियो स्थिति पनि तनावपूर्ण बन्दै थियो । मझौला कदको यो पंक्तिकार त्यो भीडमा कता कता हराएको जस्तो अनुभव गरिरहेको थियो । उसको कुरा कसैले सुनिरहेको थिएन । वास्तवमा कसैले कसैको कुरा सुनिरहेका थिएनन्, सब आआफ्नो कुरा मात्र ठूलठूलो स्वरमा सुनाइरहेका थिए । यस्तो स्थिति धेरै बेर रहन दिनु हुन्न भन्ने सोचेर पंक्तिकारले केही गर्नै पर्ने कर्तव्य बोध गर्यो । तर के गर्ने ? कसरि गर्ने ? भन्ने समस्या उसको अगाडि ठिंग उभिन आउँथ्यो । उसले गत बैशाख ११ गतेलाई सम्झयो । उ र उसका साथीहरु मिलेर पाटनबाट निस्केको सवालाख भन्दा बढी जनआन्दोलनकारीहरुको जुलुसलाई शहरका प्रमुख क्षेत्रहरुको भव्य परिक्रमा गराएको सम्झयो । एउटा मट्यांग्रा पनि हान्न नपर्ने गरी जुलुसलाई कडा सुरक्षा व्यवस्था भएको मुल सडकमा उतारेको सम्झयो । बख्तरबन्द गाडी र स्वचालित हातहतियारबाट सुसज्जित ठाउँठाउँमा तैनात सुरक्षाकर्मीहरुलाई “जनताको खूनबाट बनेको करबाट पालिएका तपाईंहरुले कसको नूनको सोझो गरिरहनु भएको छ, सम्झनुस्” भनी नैतिक प्रश्न तेर्स्याएको सम्झयो । “हामी अगाडि बढ्छौं, बढ्छौं । हान्ने भए लौ हान्नुस् गोली” भनेर छाती तन्काएको सम्झयो । “अन्याय अत्याचार विरुद्ध उठ्नु जनताको अधिकार हो । हामीलाई रोक्न पाउनु हुन्न । लौ गुडाउनुस् बख्तरबन्द गाडी हाम्रो शरिर माथिबाट” भनी सयौं आन्दोलनकारीहरु सहित बाटामा लम्पसार परी सुतेको सम्झयो । यसरि सुरक्षाकर्मीहरुको हरेक अवरोधलाई वार्ताद्वारा भत्काउँदै बिना कुनै नोक्सानी जुलुसलाई कोपुण्डोलको मुल सडकबाटै जिल्ला पार गराउन सफल भएको सम्झयो ।

यसरि कुरा गरेर सैनिकहरुलाई त सम्झाउन सकिन्छ र जनसमुहलाई सम्भावित हिंसाबाट बचाउन सकिन्छ भने लामो समयदेखि राज्यबाट हेपिएका, थिचिएका र आफ्नै नेताहरुबाट संधै धोका पाउँदै आएका यी निरीह एवं निहत्था आन्दोलनकारीहरुलाई सम्झाउन कसरि नसकिएला भनी सोच्दै पंक्तिकार हुललाई छिचोल्दै बल्ल बल्ल तिनका नेताहरु भएको ठाउँसम्म पुग्न सफल भयो । तर त्यो कोलाहलमा उसको कुरा सुन्ने कसले ? उसको पालो “एक मिनेट, एक मिनेट” भन्दै बेन्चीमाथि उभिरहेको एकजना नेतालाई हात समाएर तान्यो र घोक्रो फुलाउँदै भन्न थाल्यो, “हेर्नुस् नेताजी, यसरि तपाईंहरुको समस्या समाधान कदापि हुँदैन । तपाईंहरुको भनाईप्रति कसैको विमति हुन सक्तैन । तपाईंहरुको समस्या प्रति हामी सबैको हार्दिक सहानुभूति छ । तब न चार घण्टा भन्दा बढी समयदेखि तपाईहरुको चक्काजामलाई र्समर्थन गरेर बसिरहेका हौं । अब पुग्यो, छोडिदिनोस् । यी बेकसूर मुसाफिरहरुलाई अझै यसरि बीच बाटोमा रोकेर दिनभर घाममा सेकाउने हो भने तपाईंहरुले उनीहरुको सहानुभूति र र्समर्थन होइन त्यसको सट्टा रीस र घृणा पाउनु हुनेछ । तपाईंहरुले यस बारे सोच्नु भएको छ कि छैन ?” (क्रमस:)

२००६ सेप्टेम्बर ११

Source::http://66.116.151.85/?p=3854

Advertisements

Entry filed under: Articles.

Factors Behind the Maoist People’s War-IV Clash Of Two Civilization

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 49 other followers


%d bloggers like this: