चित्रलेखा यादव
September 21, 2006 at 10:45 pm 2 comments
टेलिभिजन स्त्रिmनअगाडि पुनस्र्थापित संसद्को प्रत्यक्ष प्रसारण हेरिरहेका लाखौं नेपाली जनताको हृदय गदगद भयो, जब ठूलो आँखा, शालीन व्यक्तित्वकी धनी चित्रलेखा यादवले उप-सभामुखको हैसियतले बहुचर्चित सम्बोधन गर्दै भनिन्, ‘लोकतन्त्र भनेको कसैको निगाह होइन, यो धेरै वा थोरै हुँदैन, आमूल परिवर्तन यसको अभिलाषा हो । यो नैतिक र गहन जिम्मेबारी आज ऐतिहासिक संयोगले हाम्रो काँधमा आएको छ ।’
चित्रलेखा यादवले दिएको १२ मिनेटको सम्बोधनले केही अघिसम्म यता-उता गरिरहेका अन्य सांसदहरूलाई मात्र गम्भीर बनाएन, आमजनताको बोली त्यही ५ पेज लामो हस्तलिखित कागजमा समाहित भएझैं लाग्यो । त्यसयता उनी देश-विदेशमा चर्चाको केन्द्रविन्दुमा छिन् । लोकतन्त्रको जनआन्दोलन अवधिभरि सात पार्टीले आशालाग्दो नेता जन्माउन नसकेको कठिन घडीमा चित्रलेखा लोकतान्त्रिक नेताका रूपमा स्थापित भएकी छिन् । १५ दिनयता उनलाई स्वदेशी तथा विदेशी मित्रहरूले लोकनेताको पगरी गुथाउन थालेका छन् । ‘यस्तो जनआन्दोलन विश्वमा कमै हुन्छ, यसबाट म जनताको शक्ति कति छ भनेर गम खाइरहेकी छु ।’ आफ्नै निवासमा चियाको सुर्को लगाउँदै चित्रलेखाले नारीसँग भनिन्, ‘यो जिम्मेबारी बोध मैले गरेकी छु, त्यसको प्रतिबिम्ब मेरो सम्बोधनमा परेको हो ।’
अप्ठ्यारो संघर्ष
हुन त एउटै सम्बोधनबाट कसैको उचाइ कति छ, नाप्नु भूल हुन्छ । यद्यपि चित्रलेखा नेपाली राजनीतिकी यस्ती व्यक्तिका रूपमा देखिएकी छिन्, जो मधेसी समुदायको कठोर नियमलाई छिचोलेर माथि आएकी हुन् । आममहिलाको समस्यालाई नजिकबाट अध्ययन गरेकी तर महिलामध्ये सबैभन्दा पढे-लेखेकी सांसद हुन् चित्रलेखा । मधेसी समुदायको संस्कारका कारण नौ कक्षामा पढ्दा-पढ्दै उनको विवाह भएको थियो । बुहारी भएपछि गर्नुपर्ने कर्तव्यका कारण उनले प्राइभेटबाट एसएलसी गरेकी थिइन् । दुई सन्तान हुर्काइसक्दा उनले अंग्रेजी साहित्यमा एम. ए. पनि गरिसकेकी थिइन् । दूधे छोरीलाई माइतीको जिम्मा लगाएर अध्ययन र राजनीतिलाई एकसाथ अघि बढाएकी चित्रलेखा आत्मीयताका साथ भन्छिन्, ‘बुहारी भएर घर जाँदा मैले मान्नुपर्ने १२ जना महिला घरभरि हुनुहुन्थ्यो । चलन अनुसार उहाँहरू सबैलाई गोडामा चिल्लो लगाइदिनुपथ्र्याे । सबै निदाएपछि टुकी बालेर म पढ्न बस्थें ।’ यस्तो बेलामा पनि उनले आईएडमा प्रथम श्रेणीमा प्रथम भएर ऐश्वर्य विद्यापदक प्राप्त गरेकी थिइन् ।
बाटोघाटो, बिजुली बत्ती, अशिक्षा र आधुनिक युगबाट हेर्दा अविकसित गाउँमा जन्मिएकी चित्रलेखाको भाग्य भनेकै उनको सुसंस्कृत परिवार थियो । उनका बुवा तत्कालीन माननीय हुनुहुन्थ्यो । ‘बुवाको मप्रति ठूलो विश्वास थियो, उहाँकै कारण मैले पढ्न थालें तर गाउँभरिका महिला र पुरुषका लागि मैले घर छाडेर होस्टलमा बसेर पढ्नु कलियुग व्याप्त भएको प्रमाण थियो ।’ उनलाई जिल्लाभरिका मानिसले दयालु र सहयोगीका रूपमा चिन्छन् । महिलाहरूको पीडामा चासो राख्ने, स्वास्थ्य समस्या पर्दा अस्पताल लान सल्लाह दिने, धेरै सन्तान पाउनेहरूलाई त्यसो नगर्न सम्झाउने, गरिब र असहायलाई चोरी-चोरी चामल, कपडा र पैसा दिने महिलाका रूपमा उनको छुट्टै पहिचान छ । त्यस्ता मानिसहरूसँग उनी सुख-दुःखका कुरा गर्थिन् । यसले उनको राजनीतिका लागि राम्रो धरातल निर्माण गर्दै गयो । स्कुल-कलेजमा प्रथम आउने मात्र होइन गरिबका घरघरमा गएर पढाउने र उनीहरूका सुख-दुःखमा साथ दिने हुँदा उनी सिराहाको जहर्नीमा मात्र होइन, आसपासका गाउँमा चर्चित हुँदै गइन् । त्यसैले उनले गएको निर्वाचनमा सद्भावना र एमालेका भोट पनि पाएकी थिइन् ।
चर्चित शिक्षक
जसरी बुबाका कारण उनले काठमाडौंमा बसेर केही वर्ष पढ्ने मौका पाइन् त्यसैगरी अंग्रेजी भाषाका प्राध्यापक श्रीमान् श्रीकृष्ण यादवका कारण उनको अध्ययनले अघि बढ्ने मौका पायो । काठमाडौंमा क्याम्पस पढाइरहेका बेला उनकै श्रीमान्को आग्रहले उनी सिराहा क्याम्पसमा अंग्रेजी भाषाकी शिक्षिका बनिन् । तराईमा अंग्रेजी भाषामा कमजोर विद्यार्थीहरूलाई सित्तैमा ट्युसन पढाउन थालेपछि उनी सबैभन्दा पि्रय शिक्षिका पनि भइन् । अहिले पनि उनलाई पढे-लेखेका युवाहरू सांसदभन्दा पनि शिक्षिका भन्न रुचाउँछन् । तराईवासी महिलामध्ये अन्यन्तै राम्रो अंग्रेजी हुनु, क्याम्पसमा पढाउनु, गाउँ-गाउँमा गएर विद्यार्थीहरू खोजी विद्यालय भर्ना गराउने व्यवहारका कारण तराईवासीहरू उनलाई अद्वितीय महिलाका रूपमा सम्झन्छन् । नेपाली राजनीतिमा सिराहा क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपयुक्त पात्र चित्रलेखा मात्रै भएकीले उनले पढाइरहेको क्याम्पस चटक्कै छाड्नुपर्यो तर उनी आफ्नो शिक्षा मोहलाई नलुकाई भन्छिन्, ‘मेरो लेक्चर भनेपछि कक्षामा भीड हुन्थ्यो । विद्यार्थीले मप्रति देखाएको सद्भाव देख्दा जनम-जनम शिक्षिकामात्रै हुन पाए हुन्थ्यो भन्ने लाग्छ ।’
राजनीतिको चित्र
राजनीतिलाई संस्कारयुक्त जीवनशैली मान्ने कम सांसदहरूमध्ये उनी पनि एक हुन् । नेपाली कांग्रेस धेरैजसो समय सत्तामा भए पनि त्यसको फाइदा उनले कहिल्यै नलिएको उनका समकालीनहरू बताउँछन् । राजनीतिमा उनको आफ्नै दर्शन छ । ‘पदप्रति न्याय गर्न सकिँदैन भने कहिल्यै पदमा जानुहुँदैन ।’ विद्यार्थीलाई पढाएकै शैलीमा चित्रलेखा भन्छिन्, ‘पदमा पुगेर दायित्व निभाउन नसकेको भोलिपल्ट राजीनामा दिनुपर्छ ।’ उनका धेरै अग्रजले आदर्श राजनीतिविरुद्ध देखाएको चरित्रबाट उनी खुसी छैनन् तर अबको राजनीतिमा शुद्धीकरण हुँदै जाने अटल विश्वास उनमा छ ।
राजनीति गर्ने उनको आफ्नै सिद्धान्त छ । सिराहाको क्षेत्र नम्बर दुईबाट भारी मतले जितेर जनताले काठमाडौं पठाए पनि उनी ६-६ महिनामा गाउँ पुग्छिन् । देशभरि युद्धले ग्रस्त बनाएर माननीयहरू गाउँ जान नसकेको अवस्थामा पनि उनी निर्धक्क गाउँ डुलिरहेकी हुन्थिन् । माननीय भए पनि आफ्ना मान्नेहरूलाई उनी खुट्टा ढोगिरहेकी हुन्छिन् । किन त ? ‘मेरो संस्कार ।’ आधुनिक शिक्षा र आधुनिक संस्कारबाट पूर्ण परिचित चित्रलेखा भन्छिन्, ‘म त्यही मधेसकी छोरी हुँ । मैले कर्तव्य बिर्सनु हुँदैन ।’ माइतीतिर उनलाई छोरी र घरतिर उनलाई बुहारीका रूपमा हेर्ने मानिसहरू बढी छन् । -उनको माइती र घरको दूरी १६ किलोमिटर छ ।) लाहानबाट २४ किलोमिटर टाढाको उनको गाउँ नहर्नीमा वषर्ायाममा हिँडिसक्नु हुँदैन । तराई भए पनि त्यहाँ अहिलेसम्म मोटर पुग्न सकेको छैन । यद्यपि जनताको उनीप्रति धेरै गुनासो छैन । ‘खै किन हो उनीहरू ममाथि विश्वास गर्छन् । यही विश्वासका आधारमा हाम्राे माया बढ्दो छ ।’ जीवनका स्मरणीय राजनैतिक घटनामध्ये राजाले सत्ता हातमा लिएपछि मंगलबजारमा खुला संसद् सञ्चालन गरेको दिनलाई उनी आफ्नो जीवनको अविस्मरणीय क्षण मान्छिन् । अहिले आएर ऐतिहासिक जनआन्दोलनको बलमा गठन भएको संसद्मा पहिलो दिन सम्बोधन गर्न पाउनु पनि गर्वको विषय बनेको छ । ‘उप-सभामुख भए पनि मैले ऐतिहासिक क्षणहरूमा आफ्नो कर्तव्य निर्वाह गरें । आफ्नो कर्तव्यबाट विचलित भएको भए यस्तो अवसर कहाँ पाउने थिएँ ?’
नेपाली कांग्रेस प्रजातान्त्रिकको केही महिनाअघि भएको निर्वाचनमा महिला आरक्षणको सीट हुँदाहुँदै पनि उनले पुरुषहरूसँग प्रतिस्पर्धा गरिन् । उनका शुभचिन्तकलाई महाधिवेशनमा हार्छिन् कि भन्ने चिन्ता थियो तर उनले धेरै मत ल्याउनेहरूको सूचीमा तेस्रो स्थान ल्याएर पार्टीभित्र आफ्नो लोकपि्रयताको परिचय दिइन् । नारीसँगको कुराकानीका क्रममा चित्रलेखाले संसद्मा दिएको एक अंशलाई दोहोर्याउँदै भनिन्, ‘सम्पूर्ण जनताले हाम्रा प्रत्येक आचरण र क्रियाकलापलाई सूक्ष्म तरिकाले मूल्यांकन गरिरहेका छन् । कुनै पनि प्रकारको कुर्सी मोहलाई जनताले स्वीकार गर्ने छैनन् । भोलि फेरि पनि कुर्सी र सत्ताको हानथापको गन्ध जनताले स्पर्श गरे भने हामीमध्ये कसैलाई पनि जनताले माफ गर्ने छैनन् ।’
Source::Kantipur Online “Sarbottam Nari”
Entry filed under: Articles.
1. gyanendra | February 15, 2009 at 1:45 pm
hi i like you very good
2. purna Tiwari | September 24, 2010 at 6:55 am
hi chitralekha didi, Badhai chha tapai lai .ra malai dharai khusi lago tataiko karayakal ko shubhakamana from TU kritipur.