राष्ट्र, राष्ट्रियता र नागरिकता

October 17, 2006 at 4:24 pm Leave a comment

राष्ट्र, राष्ट्रियता र नागरिकता

वृषेशचन्द्र लाल

दसैं आयो र गयो पनि तर राजा महेन्द्रकै पालादेखि नागरिकता प्रमाणपत्र वितरणको प्रपञ्च रचेर जबर्जस्ती राज्यविहीन बनाइएका, हरेक किसिमको राजनीतिक, सामाजिक र आर्थिक मारमा पारिएका मधेसी नेपालीको समस्यामा किन्चित पनि फरक आएन । सायद यस सन्दर्भमा ‘आउन दिइएन’ भन्ने वाक्यांशको प्रयोग गर्नु बढी उपयुक्त होला । मधेसमा नागरिकतासम्बन्धी स्वर चर्किँदै गएपछि सत्तासीन वर्गका विभिन्न यन्त्रहरू दसैंलगत्तै गाउँ-गाउँमा सर्वदलीय टोली पठाएर नागरिकता बाँड्ने ढ्वाङ फुक्दै आएका थिए । धनुषा जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्रका लागि धर्ना बसेका यस्ता जबर्जस्ती राज्यविहीन बनाइएका दलितहरूलाई नेपाल सरकारका प्रतिनिधि प्रमुख जिल्ला अधिकारीले लिखित आश्वासन पनि दिए । उक्त आश्वासनमा गृह मन्त्रालय तथा तथाकथित नागरिकता समस्या समाधान गर्न गठित संसदीय समिति संयोजकको वचनबद्धतालाई आधारका रूपमा उद्धृत गरिएको थियो । नेपाल सरकारले प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक पनि प्रस्तुत गर्‍यो तर त्यसमाथि छलफल र टुङ्गो लगाइने कामचाहिँ भएन । पुनस्र्थापित प्रतिनिधिसभा घोषणाका अन्य सबै कुरा कार्यान्वित हुन सक्छन् अन्य विषयबारे अन्तरिम र दीर्घकालीन निर्णयहरू हुन्ा सक्छन् तर मधेसको नागरिकता समस्याबारे प्रतिनिधिसभा घोषणाको बुँदा ६ कार्यान्वयनका लागि अन्तरिम संविधान पर्खिनुपर्ने तर्क आउन थालेका छन् । अन्तरिम संविधान घोषणापछि पनि यस पर्खाइको अन्त्य होला भन्ने लाग्दैन ।राज्य र सरकारको यस्तो स्वभाव मधेसीहरूका लागि नयाँ होइन । नेपालका राजनीतिक दलहरूमा नागरिकताको विषयमा आलटाल गर्ने कुरामा स्थायी मतैक्य रहेको जस्तो छ । ०४६ पछिका दिनहरूमा यस समस्याको न्यायपूर्ण समाधानको आश्वासन लगभग सबैले दिएका छन् । बेला-बेलामा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी सबैले नाटकीय प्रतिज्ञाहरू गर्नुभएको छ । महन्थ ठाकुर, धनपति उपाध्याय आदि आयोग बनाइएका छन् । यसभन्दा अघि पनि विधेयक प्रस्तुत भएकै छन् तर प्रतिनिधिसभामा समर्थन गरेको एमालेले राष्ट्रिय सभामा गएर विरोध गरेको छ । जेनतेन पारित विधेयक राजा वीरेन्द्रदेखि ज्ञानेन्दको पालासम्म थन्काइएर तुहाइएको छ । नागरिकता प्रमाणपत्र वितरण गर्ने प्रक्रियालाई अलि खुकुलो गरेको देखाएर लगत्तै फेरिे औज्ाारका रूपमा अदालतको प्रयोग गरी त्यसलाई रोक्ने र वितरित प्रमाणपत्र रद्द गर्ने काम पनि भएको छ ।

राज्य र सत्तामा प्रभुत्व जमाएर बस्नेहरूलाई नागरिकता लगायत अन्य नागरिक अधिकार र अवसरका क्षेत्रमा मधेसीहरूलाई यसरी ठग्ने खेल रमाइलो र आनन्ददायी लाग्ने गरेको हुनुपर्छ । तर यही खेलको अर्को पाटो देशमा विखण्डन र विस्फोटक परिस्थिति तयार गरिरहेको सायद कमैलाई थाहा होला । राजादेखि राजनीतिक दलका नेताहरू यस देशका आदिवासी मधेसीलाई देशको अङ्ग र नागरिक नै मान्दैनन् । दुनियामा कहीँ पनि जन्मेका खस वा मंगोल मूलका व्यक्ति नेपाली र यस राष्ट्रका अङ्ग हुन्छन् भने नेपालमै जन्मे/हुर्केका यहीँकै आदिवासी मधेसीहरू नेपाली हुनै सक्तैनन् भन्ने कटु सन्देश यस खेलले नेपालका मधेसीहरूका मनमा नमेटिने गरी कोरिरहेको छ र त्यो पनि देशभक्ति र राष्ट्रियताको नाममा उच्च वर्ग र जाति विशेषको प्रभुत्ववादी अन्ध राष्ट्रवादका प्रभावमा रहेका हाम्रा कतिपय मित्रहरूलाई नेपालको वर्तमान सिमानाभित्रका मधेसीहरू फिजी, मौरिसस आदि देशमा निर्वासित भएर गएका भारतीयजस्ता लाग्छन् । त्यसैले मधेसीलाई नागरिकता र नागरिकको हैसियतले पाउनुपर्ने नागरिक अधिकार तथा राजनीतिक-सामाजिक-आर्थिक क्षेत्रमा समान अवसरको हकको कुरा उठ्दा उहाँहरूको टाउको दुख्न थाल्छ । मधेसीलाई स-सम्मान घर-घरमा गएर नागरिकता दिनुपर्ने कुरा उठ्दा विदेशीले नागरिकता पाउलान् भन्ने तर्क दिनेहरू सर्वप्रथम शाहराजाहरूको राज्य विस्तारभन्दा पहिले मधेस कसको भूमि थियो र यहाँ विदेशी जस्तो बाहिरबाट आएर बसेकाहरू को हुन् वास्तविकतालाई बुझ्नु आवश्यक छ । तथ्य त के छ भने मधेस थारू, अवधी, भोजपुरी, मैथिल, माझी, दनुवार, धाँगड, सतार, राजवंशी आदि सम्पूर्ण मधेसीको भूमि हो र यी यस भूमिका आदिवासी हुन् । यस भूमिमा पछि आएर बसेकाहरू बाहिरिया हुन् । यस्ता तर्क दिनेहरूको भित्री मनसाय शाहराजाहरूको राज्य विस्तारपछि अन्य भागको एकीकरण र मधेसको औपनिवेशीकरण भएको हो भन्ने त छैन ? राज्य र सत्तामा प्रभुत्व जमाएर बस्नेहरूलाई मधेसलाई ठग्नेे खेल चाहेजति आत्मरति प्रदान किन नगरोस् तर यस्ता खेलले मधेसीलाई अब यी सबै कुराको चिरफार गर्न बाध्य गरिरहेछ । कता-कता यस्तो खेलले मधेसी युवालाई हिंसाको बाटो औल्याएर देखाउने काम गरिरहेछ ।

फिजी, वेस्टइन्डिज र मौरिससजस्ता देशमा सैकडौं वर्षदेखि वसोवास गरेका विदेशी मूलका नागरिक राजनीतिक-सामाजिक-आर्थिक अवसरबाट अलग्याइएका छैनन् । तिनीहरू आर्थिक रूपमा समृद्ध हुने अवसर पाएका छन् । देशको प्रमुखसम्म भएर राजनीतिक भूमिका पूरा गर्न सक्छन् । त्यहाँका सेनामा तिनको प्रवेश निषिद्ध छैन । सञ्चारमाध्यममा तिनलाई छाँटेर देखाइने वा प्रसारण गर्ने चलन छैन । खेलकुदमा देशको प्रतिनिधित्व गर्न पाएका छन् र सरकारी सेवामा पहुँच सहज छ- यहाँ जस्तो प्रतिस्पर्धा गर्दै नगरी कृपाको आधारमा जागिर दिने वा प्रतिस्पर्धा गर्दा जानाजान छाँट्ने नियत हुँदैन ।

पृथ्वीनारायण शाहको राज्य विस्तारभन्दा पूर्व मकवानपुर, चौदण्डी र विजयपुरका सेन राजा मातहत रहेको मधेसको पूर्वी भागलाई १७७४-७५ई.मा अर्थात् लगभग २३१ वर्ष पहिले आक्रमण गरेर शाहराजाहरूले आफ्नो राज्यमा मिलाएका थिए । पूर्वमा शाहहरूको राज्य विस्तार दार्जिलिङसम्म भएको थियो । किराँत पनि त्यसै बेलादेखि गाभिएको हो । त्यस्तै मधेसको पश्चिमी भाग भने  १७७८-१७९० ई. तिर शाहराजाको राज्य विस्तारमा परेको थियो । त्यसपछिदेखि सम्पूर्ण मधेस विजित भूभाग र थारू, अवधी, भोजपुरी, मैथिल, माझी, दनुवार, धाँगड, सतार, राजवंशी सबै मधेसी सामूहिक रूपमा पराजित राष्ट्रका रूपमा तिरस्कृत छन् ।

राष्ट्र र राष्ट्रियताको कुरा गर्ने मित्रहरूले एउटा कुरा बुझ्नै पर्ने के छ भने राष्ट्रको अर्थका बारेमा दुई किसिमबाट विचार गर्न सकिन्छ । समान नाक-नक्स, रहन-सहन, एउटै समूहको भाषा, ऐतिहासिक एकरूपता आदि भएको समुदाय एउटा राष्ट्र हो अथवा आधुनिक परिप्रेक्ष्यमा देशको सिमानाभित्रका सम्पूर्ण नागरिक समग्रमा एउटा राष्ट्र हुन् । यस अर्थमा राज्य र राष्ट्रको बीचमा खासै भिन्नता पाउन गार्‍हो नै हुनेछ । राष्ट्रको पहिलो अर्थ बढी उपयुक्त र मान्य छ । एउटा देशमा एकभन्दा बढी राष्ट्रको उपस्थिति हुन सक्छ तथा यसो भएमा ती एकभन्दा बढी राष्ट्रबीच समानताको आधारमा सहअस्तित्वको ग्यारेन्टी  अत्यावश्यक छ । यसको अर्को अर्थ अर्थात् एउटा देशभित्रको सिमानामा बस्ने सबैलाई एउटा राष्ट्र मान्ने हो भने पनि त्यस देशभित्रका सबै व्यक्तिको समान नागरिक हक देशको एकता र अखण्डताका लागि जरुरी छ । त्यसकारण मधेसी जनतालाई अलग राष्ट्र मान्नेहरूले पनि तिनको समान हकलाई स्वीकार गर्नुपर्छ नत्र भने तिनले आत्मनिर्णयको आफ्नो नैसर्गिक अधिकार प्रयोग गर्न खोज्नु अनुचित हुने छैन । होइन देशको सिमानाभित्रका सबै नेपाली हुन् भने शान्त तवरले तिनीमाथि जारी विभेदपूर्ण नीतिको तत्काल पूर्णपरित्याग आवश्यक छ । यस सन्दर्भमा एउटा अर्को महत्त्वपूर्ण कुरा के छ भने देशको राजनीतिक सिमानाको आधारमा परिभाषित राष्ट्रियता परिवर्तनशील हुन्छ । पृथ्वीनारायण शाह र उनका वंशजको राज्य विस्तारपछि नेपालको सिमानाभित्र पराजयका कारण गाभिएका क्षेत्रका नागरिकको राष्ट्रियतामा परिवर्तन भएकै हो । सन् १९४७ मा यसैगरी छिमेकी देश भारतका धेरै नागरिक पाकिस्तानी राष्ट्रियतामा परिवर्तित भएका थिए । बंगलादेशको उदय हुँदा पनि पूर्वी पाकिस्तानका नागरिक रातारात बंगलादेशी बन्न पुगे ।

नागरिकता भनेको कुनै राजनीतिक एकाइ अर्थात राज्यको सदस्यता प्राप्त गर्नु हो तथा नागरिक भन्ने शब्दको उत्पत्ति नगरमा स्थायी रूपमा वसोवास गर्ने व्यक्तिलाई इङ्गति गर्न भएको हो । वर्तमान परिप्रेक्ष्यमा नगरको स्थान राज्यले लिइसकेको छ । राष्ट्रको आधुनिक अर्थलाई आधार मान्ने हो भने नागरिकता र राष्ट्रियताको अर्थ मिल्दोजुल्दो हुन जान्छ । जबकि कुनै व्यक्ति नागरिक नभएर पनि कुनै खास राष्ट्रियताको अङ्ग हुन सक्छ र एउटै व्यक्ति सम्बन्धित देशको कानुनले दिन्छ भने दुईभन्दा बढी देशको नागरिक पनि हुन सक्छ । यस सन्दर्भमा कमनवेल्थ र युरोपियन युनियनको नागरिकतासम्बन्धी व्यवस्थालाई उदाहरणका रूपमा लिन सकिन्छ । नागरिकताले सम्बन्धित व्यक्तिलाई त्यस देशमा उपलब्ध सबै नागरिक हकको निर्वाध प्रयोगको ग्यारेन्टी दिन्छ ।

कुनै पनि राज्यमा स्थायी रूपमा वसोवास गर्ने सबै त्यस राज्यका नागरिक हुन् । कसैलाई पनि उसको वासस्थानबाट वञ्चित गर्न सकिन्न न त तिनलाई राज्यविहीन पार्न सकिन्छ । त्यसैले स्थायी रूपमा देशभित्र बसिसकेेकालाई पनि नागरिकता प्राप्तिबाट अलग राख्न सकिन्न । विदेशीहरू आएर यहाँ घरजम गर्ने कुरालाई नियन्त्रित गर्नु छ भने सबभन्दा पहिले नेपालको सिमानालाई व्यवस्थित गर्नु बढी उपयुक्त होला । तिब्ब्ात, दार्जिलिङ, सिक्किम, भुटान, बिहार, उत्तरप्रदेश सबैतिरबाट भइरहने वा हुन सक्ने नयाँ प्रवेश पूर्णतः रोकिनुपर्छ । तर स्थायी रूपमा वसोवास गरिसकेकालाई नागरिकताबाट वञ्चित राख्ने कार्य गर्नु हुन्न ।

मानव बसाइ सराईँको प्रवाह कम सुविधा भएको स्थानबाट बढी सुविधा र राम्रो जीवनस्तरको सम्भावनातिर हुन्छ । उदाहरणका लागि नेपाल र भारतबीचमा हुने बसाइ सराईँको प्रवाहलाई लिन सकिन्छ । नेपालमा भारतबाट सर्नेहरूको संख्याभन्दा कैयन गुणा बढी भारतमा नेपालीको हुन्छ । दिल्ली, पञ्जाब, हरियाणा, कोलकाता, मद्रास, बिहार, युपी, मुम्बई आदि स्थानमा नेपाली सराइको प्रवृत्ति छ । विकसित देशका सरकार आफ्ना नागरिकको रोजगारको अवसर तथा जीवनस्तर वृद्धिप्रति बढी क्रियाशील हुन्छन् । जनसंख्या नियन्त्रणका लागि बाहिरबाट प्रवेश गर्नेहरूमाथि नजर राख्छन् तर प्रवेश गरिसकेकाप्रति अनुदार हुन्नन् । नागरिकताको हक र त्यससँग जोडिएका सामाजिक-आर्थिक-राजनीतिक अधिकार मनुष्यको नैसर्गिक अधिकार हो । यसबारे यी देशहरू उदार छन् । नेपाल विश्वका अन्य मुलुकभन्दा नागरिकताको मामिलामा बढी अनुदार छ । दुनियाभरिमा नागरिकता प्राप्तिका यी आधारहरू प्रचलित छन्- १. जन्मसिद्ध -लेक्स सोली) २. वंशज -लेक्स सैङ्गििनस) ३. वैवाहिक ४. अंगीकृत

५. बसोबास ।

 नेपालमा जन्मको आधारमा नागरिकता प्रदान गरिँदैन । वैवाहिक नातामा दिइने नागरिकतामा ठाडो लैङ्गकि विभेद छ । नेपाली छोरीले विदेशी नागरिकसँग विवाह गर्दा उनको आफ्नै नेपाली नागरिकता समाप्त हुन्छ । घरघरेडी नभएको अथवा जानाजान टोलीले नाम दर्ता नगरेका लाखौं मधेसी वंशजका नाताले नेपाली नागरिक भए पनि तिनीहरूलाई राज्यविहीन बनाइएको छ । स्थायी बसोबासका आधारमा ऐनमा उल्लिखित सर्त पूरा गरी अंगीकृत नागरिकताका लागि दिइएका लाखौं निवेदन वर्षौंदेखि गृह मन्त्रालयमा धमिराका आहार बनिरहेछन् ।

नागरिकताका कारण राष्ट्र विखण्डनमा परेको उदाहरण छैन । इतिहासमा अहिलेसम्म विभेद र वर्चस्ववादी प्रवृत्ति राज्य विखण्डनको मूलकारण देखिएको छ भने त्यहीँ समता र सहअस्तित्त्व राज्यको मजबूती र राष्ट्रिय एकताको प्रवर्द्धकसिद्ध भएको छ । नागरिकताको सन्दर्भमा राष्ट्र र राष्ट्रियतामाथि खतरा देखाउने प्रयत्नमा दिइएका तर्कहरूको भित्री बोली वर्चस्व र विभेदको बोली हो ।

Source::http://kantipuronline.com/kolnepalinews.php?&nid=88484

Advertisements

Entry filed under: Articles, Uncategorized.

Case Study – Crisis of Identity and Compulsions of Survival: Paradox of a Madhesi Youth Historical: Jung Bahadur pleasure at the cost of Terai plight

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: