झंडा र राष्ट्रीयता

October 28, 2007 at 12:10 pm Leave a comment

झंडा र राष्ट्रीयता

दीपेश गौतम/ द. कोरिया

भनिन्छ मान्छेको प्राण भन्दा प्यारो उसको पहिचान हो । अनि एक टु्क्रा जमिन केवल त्यसको आकार प्रकार वा लम्वाई चौडाई मात्र होइन अपितु त्यो उसको इज्जत र अस्तित्वको परिचायक हो । त्यसकारण त राष्ट्रियता र जमिनको लागि मान्छेले प्राणको पनि आहुती दिन तयार हुन्छ । आजको व्लग हेर्दा पनि मैले पुन एकपटक यसलाई महसुस गरेँ । प्रसंग राष्ट्रिय झण्डा जलाएको कुराको । त्यहाँ प्रसस्त आक्रोसका ज्वाला ओकलिएका छन् । कतिले आदतपूर्ण गालीहरुको वर्षा गरेका छन् । कतिले त्यसकै आडमा शाह वंशको औचित्य पुष्टि गर्न खोजेका छन् । जे होस आ-आफ्नो औकात र चित्त पित्त अनुसारका तर्क, विश्लेषण र गालीका वर्षा ब्लगमा देख्न पाइन्छ र अझै सायद कयौँ गालीहरु पनि आउन बाँकी नै होलान् । त्यसकारण पनि मलाई यो विषयमा केही लेखिहाल्न घच्घच्यायो ।

ज्वाला गोइतहरुले आफूलाई नेपाली नै भन्दैनन् भने गोर्खाली राजाले एकीकरण गरेर स्थापित गरेको झण्डा जलाउनु कुनै अनौठो लागेन मलाई त । बरु यसलाई त्यति ठूलो महत्व दिएर घटनालाई अनावश्यक रुपमा स्थापित गराउनु हुन्न । Just Better to ignore. फेरि यो भन्दा अर्को अर्थ नलागोस् कि झण्डा जलाउनु ठीक थियो । होइन, झण्डा त राष्ट्रको एउटा लोगो (Icon) हो जसले अन्तराष्ट्रिय जगतमा राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ । तर यहाँ बूढी मरी भन्दा पनि काल पल्केको कुरामा चाहिँ ख्याल गर्नु पर्छ । जब राष्ट्र नै विखण्डन गर्ने उद्देश्य वा नाराका साथ कुनै हिंसात्मक कृयाकलाप चलेका छन् भने झण्डा जलेको खवरले महत्व पाउनु पर्ने हैन कि बरु त्यो नारा किन लागिराखेको छ, त्यसमा ककसको के के निहित स्वार्थ छ, अनि त्यसले भावी नेपाललाई पार्न सक्ने असरहरु प्रति चाहिँ बेलैमा सचेत हुनु जरुरी छ ।

मेरो विचारमा चाहिँ मधेसमा भएको भेदभाव, अशिक्षा, दरिद्रता र अढाई सय वर्षदेखि लादिएको एक किसिमको औपनिवेशिकताको समग्र कारण प्रमुख हो र त्यसको आडमा धमिलो पानीमा माछा मार्ने दरवारिया प्रतिक्रियावादी तत्वहरु र विस्तारवादि दलालहरु यसका निमित्त कारण हुन् ।

यहाँ मधेशमा भेदभाव, अशिक्षा र दरिद्रता छ भन्दा त्यसलाई अधीकांशले स्विकार्नुहोला तर मैले औपनिवेशिकता पनि छ भन्दा चाहिँ मलाई कतिपयले गाली पनि गर्नुहोला । वास्तवमा गोर्खाली शासकहरुले मधेसी मुलका नेपालीलाई गर्ने व्यवहार औपनिवेशिक किसिमको नै रहिआएको छ र हामी पहाडि मुलका नेपालीहरुले पनि कतिपय अवस्थामा जानेर वा नजानेर त्यसलाईनै निरन्तरता दिँदै आएका छौँ ।

विगतमा दौरा सुरुवाल र ढाका टोपी लगाएर राष्ट्रिय झण्डा बोक्दै हृतिक रोशनको रिस मधेसीलाई खनाएका घटनाहरु भनौँ या वीरेन्द्रको वंशनास हुँदा झण्डावाल मुन्द्रेहरुले मधेसी हजाममाथी गरेका दुर्व्यवहार, अनि मधेसी तरकारी व्यापारीहरुमाथि नगर प्रहरीले गर्ने गरेका कुटपिट र अपमान । के यी औपनिवेशिक व्यवहार हैनन् ? अनि मधेसीहरुले चन्द्र सूर्य अंकित झण्डालाई के आधारमा श्रद्धा गर्छन् । भोलि नेपाली मुसलमानहरुले झण्डा जलाए भने पनि नौलो हुने छैन किन भने इराक काण्ड लगायत अनेक घटनामा झण्डावाल राष्ट्रवादीहरुले मष्जिद जलाएको देखेभोगेका छन् ।

त्यसकारण झण्डाले सधैँ र जुनसुकै अवस्थामा पनि राष्ट्रियताको प्रतिनिधित्व गर्दैन । अहिले सम्मको नेपाली राष्ट्रियताको आधार भनेको शाह राजाहरुले स्थापना गरेको दौरा सुरुवालको राष्ट्रियता वा गोर्खाली राष्ट्रियता थियो जुन कुनै काल खण्डमा जनता अशिक्षित हुँदा सान्दर्भिक थियो (अथवा थिएन) तर अहिले त्यो राष्ट्रियता को आधार भत्किएको कुरा त देशमा उठेका अनेक आन्दोलन, हिँसा र विखण्डनका नाराले स्पष्ट पारिसकेको छ । जव कुनै देशका धेरै प्रतिशत जनतालाई त्यस किसिमको राष्ट्रियता प्रति भरोसा छैन, झण्डा प्रति अन्तरआत्माले गौरव गर्दैनन् र पुरानो राष्ट्रियताको परिभाषाभित्र आफू ठगिएको र पिल्सिएको महसुस गर्छन् भने त्यसको ठाउँमा अर्को राष्ट्रियताको आधार खोज्नु जरुरी हुन्छ । झण्डा आफैँमा त राष्ट्रलाई चिनाउने एउटा चिन्ह मात्र हो । त्यो समय र परिस्थिति अनुसार परिवर्तन पनि हुन सक्छ जुन संसारका अन्य देशहरुमा पनि भइआएका छन् ।

अब हामीसँग रोज्नका लागि सिमित विकल्पहरु मात्र छन् । पहिलो मा राष्ट्रियताको पुरानो गोर्खाली परिभाषामा अड्ने र देशमा चलेको गृहयुद्धलाई टुलुटुलु हेर्ने । दोश्रो सम्पूर्ण नेपालीलाई समेट्ने नयाँ आधार खोज्ने । तेश्रो देशलाई विखण्डन गराएर भिन्दा भिन्दै राष्ट्रियता भएको राज्य स्थापना गर्ने । मलाई लाग्छ तेश्रो विकल्पको लागि कुनै ठाउँ छैन ।

कतिपय महानुभावहरुले देश टुक्रियो, अव खत्तम भयो भन्ने तर्क पनि पेस गर्नु हुन्छ । तर म देश यति सजिलै टुक्रिन्छ भन्ने कुरामा विश्वस्त छैन । यसका आफ्नै वस्तुगत कारणहरु छन् । नेपालको भुराजनैतिक अवस्थितिले नै देश विखण्डन हुने अवस्थासम्म पुग्न दिँदैन । यदि नेपाल टुक्रिने हो भने चीनमा चलेको स्वतन्त्र तिव्वतको नाराले वैधानिकता पाउँछ अनि भारतमा चलेका काश्मिरी लगायतका अनेकन पृथक्तावादी आन्दोलनलाई ठूलो नैतिक आधार प्रदान गर्छ । यस अवस्थामा चीन र भारतलाई ठूलो नैतिक र राजनैतिक संकट पर्न आउँछ । त्यसकारण पनि नेपालको अखण्डतामाथी अहिले नै संका नगर्नु नै उपयुक्त हुन्छ । हो वरु देशमा पहिलो विकल्प जस्तै गृहयुद्ध चाहिँ घनिभुत हुन सक्छ । त्यसकारण दोश्रो विकल्पका आधारहरु खोज्नु पर्ने अहिलेको आवस्यकता हो ।

चाहे मधेसी चाहे पहाडी; अधिकांश नेपाली जनता राष्ट्रिय अखण्डता प्रति प्रतिबद्ध छन् यो कुरामा चाहिँ सबै ढुक्क भए हुन्छ । हो यो नै हाम्रो नयाँ राष्ट्रियताको आधारभुत प्रस्थान विन्दू हो । विगतको केन्द्रिय राज्य सत्ताको धेरै नकारात्मक देनका वावजुद केहि प्रगतिशील अवस्थाहरुको पनि श्रृजना गरिदिएको छ । जस्तै सांस्कृतिक अन्तरघुलन्, एउटै सम्पर्क भाषा इत्यादि । यिनको आधारमा नै अब नयाँ राष्ट्रियता निर्माण गर्ने हो ।

नयाँ राष्ट्रियताका आधारहरु पहिचान भएता पनि त्यसलाई लागु गर्न निश्चित राजनैतिक अवस्था र नेतृत्वको आवस्यकता पर्छ । त्यसकारण सबभन्दा पहिले राष्ट्रको केन्द्रीय राजनीतिलाई ठिक ढंगले हाँक्न सक्ने नेतृत्वको स्थापना र मधेसी, जनजाती दलितहरुको अधिकार सुनिस्चित हुने राज्य व्यवस्थातर्फ यथाशिघ्र सङ्क्रमण हुनु आवस्यक छ ।

सम्पूर्ण मधेसी र पहाडि मुलका नेपाली जनताले अव चाहिँ स्पष्ट रुपमा के बुझ्न जरुरी छ भने मधेसमा राष्ट्र विखण्डनका चर्का नारा लगाएर मधेसी जनता र प्रतिक्रियावादी शासकहरु बिचमा भएको अन्तरविरोधको आडमा सम्पूर्ण शोषित पिडित जनताको शासन अधिकार सुनिश्चित हुने किसिमको राज्य व्यवस्था तर्फ मुलुकको सङ्क्रमणलाई रोक्ने प्रयत्न सिवाय केहि पनि होइन । अहिलेको केन्द्रिय राजनितिको खिचातानीहरुलाई हेर्दा पनि थाहा हुन्छ कि ७ पार्टी भित्रका कतिपय तत्वहरु नै समानुपातिक प्रतिनिधित्व र संघिय राज्यव्यवस्थाको खुङ्खार विरोधीहरु कति सक्रिय छन् भन्ने । कतै मधेसको हिँसाको आडमा समग्र राज्यको पुनर्संरचना नै देश विखण्डनको बाटो हो भन्ने कुरा त स्थापित गर्न आँटेका हैनन् ? यदि यस्तै हो भने यो अवस्थामा संविधान सभाको चुनाव कहिले पनि सम्पन्न हुन सक्तैन र भइहाले पनि यो नै राज्य विखण्डन(अद्यपि विखण्डनको विन्दू सम्म नपुग्ला) तर्फको पहिलो निर्णायक पाइला हुने निश्चित छ किनकि जन आकांक्षा अनुरुपको राज्यव्यवस्थाको ग्यारेन्टि नहुने गरि कुटिल तरिकाले आयोजना गरिएको चुनावले कुनै निकास दिन्न र झन असन्तुष्टि नै बढाउँछ ।

त्यसकारण मुलुकको अवको प्रमुख कार्यभार यथासिघ्र गणतन्त्रको स्थापना र सम्पूर्ण असन्तुष्ट पक्षसंगको सार्थक वार्ताको लागि गोलमेच सम्मेलनको आयोजना र राज्य रुपान्तरणमा उनीहरुको पनि सहभागिता गराउने हुनु पर्छ । हैन सामन्ती मुखियाले झै आफ्नै तजविजमा राज्य चलाउने र सम्पूर्ण प्रकृयाको नियम पनि आफैँ बनाउँदै अरुलाई त्यसमा छिराउन खोज्ने गिरिजा प्रवृत्तिले नै देश हाँक्ने हो भने मुलुक अझ रक्तपाततिर गयो गयो ।

अहिले तराईमा राजनैतिक वाहेक सामाजिक अपराधि तत्वहरु नै राजनितिको जामा भिरेर डकैतिमा बढि सकृय छन् । त्यसकारण यदि गोलमेचको आयोजना गर्ने हो भने त्यस्ता अपराधि तत्वहरुबाट सच्चा राजनैतिक शक्ति छुट्टिने र पहिचान गर्न सजिलो हुने छ । त्यसपछि राजनैतिक तत्व संग सहकार्य गर्दै अपराधि तत्वलाई दमन गरेर नै नियन्त्रण गर्नु जरुरी हुन्छ । तर यो तरिका एकदम सजिलो सुनिएतापनि त्यति सजिलो चाहिँ पक्कै छैन किनकि सत्तामा रहेका प्रमुख शक्तिहरुमा नै सबभन्दा ठूलो समस्या छ । राजतन्त्रसँग घाँटि जोडिएको काँग्रेस गणतन्त्रमा जाने निर्णय गरेपनि त्यति सजिलै गणतन्त्रमा प्रतिवद्द हुँनेछैन कारण अझैपनि काँग्रेसभित्रको मुल नेतृत्व राजतन्त्र जोगाउने नै मनसायमा छ । एमालेको समस्या चाहिँ माओवादीका कारण आफ्नो संगठनमा धक्का लाग्ला भन्ने डर छ । उ न त गणतन्त्रमा पतिवद्द छ न त राजतन्त्रलाई नै बोकेर हिँड्छ । यदि भोटको राजनितिमा गणतन्त्रको नाराले उसलाई फाइदा हुन्छ भने ऊ त्यहि समात्छ हैन भने त्यसलाई धोती लगाइदिन्छ । देशमा गणतन्त्र र राज्यको रुपान्तरणको नारालाई स्थापित गर्ने र लड्ने शक्ति भनेको नै माओवादी हो । तर यसको समस्या भनेको सम्पूर्ण पार्टी र आन्दोलन १३००० सहिदको वलिदानले सिंचित छ र त्यो वलिदान निर्थक थियो भन्ने सावित गर्न अनेक शक्ति, विषेश गरी अन्य प्रमुख पार्टी लागिपरेको अवस्थामा ऊ त्यस्ता प्रयत्नलाई कुनै पनि मुल्यमा साकार हुन दिँदैन । फेरि यो सँग युद्धको अनुभव त छ तर राज्य संचालनमा यो खारिएको छैन । त्यसकारण क्रान्तिकारी हुँदाहुँदै पनि आफ्ना कतिपय सीमाका कारणले यसले अहिले नै सहज तरिकाले समग्र राज्यमा आफूलाई स्थापित गराउन सक्तैन र अझ धेरै संघर्षबाट गुज्रिनुपर्ने छ । माओवादीको सरकारबाट वहिर्गमनको कारण पनि यहि हो र अहिले बोलेको संघर्षको भाषा पनि यहि हो ।

यी अन्तरविरोधहरुलाई मध्यनजर गर्ने हो अवको एक दुई वर्षको नेपाली राजनितिलाई केहि हद सम्म अनुमान गर्न सकिन्छ । अबको नेपाली राजनीति सरल रेखामा जाने छैन । अनेक खिचातानी हुनेछ । त्यसमा फेरी सेनाको आडमा प्रतिगामीहरुले कु गर्ने सम्भावना पनि रहन्छ वा अर्को जनआन्दोलन उठेको खण्डमा चाहिँ राजतन्त्र सँगै ७ दल भित्रका प्रतिक्रियावादीहरु पनि हार्ने छन् र देश सुनौलो भविष्यतर्फ अघि बढ्ने छ ।

हामी नेपाली जनताहरुको प्रयत्न पनि अर्को जनआन्दोलन उठाउने तिर नै हुन अव जरुरी छ । खाली नेतालाई गाली गर्ने वा ज्वाला गोइतलाई सरापेर केहि हुने हैन । बरु समस्यालाई गहिराइमा बुझेर आजैदेखि सार्थक वहसको थालनी गर्ने हो कि !! dipeshgautam@hotmail.com

source::http://www.mysansar.com/?p=2041

 

Advertisements

Entry filed under: Articles.

मधेसी एकता A Short History of Nepal

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: