मधेश: सम्पूर्ण तराई, ऐतिहासिक अकाट्य सत्य

July 3, 2008 at 10:42 am 5 comments

मधेश: सम्पूर्ण तराई, ऐतिहासिक अकाट्य सत्य

-विवश्वान कुमार-

भनिन्छ, सुतेको मानिसलाई व्यूँझाउन सजिलो हुन्छ, तर सुतेको स्वाङ पारेकोलाई होईन । त्यही भएर जुन ‘मधेश’ शब्द आधुनिक नेपालको स्थापनाकाल देखि नै नेपालको हरेक ऐन-कानून, नियमावली, प्रशासनिक काम-कारबाई, दस्तावेज, आदेश र बोली-व्यवहारमा नेपालको दक्षिणी-भूभागका लागि झन्डै अविकल्प रुपमा शासकवर्गद्वारा नै प्रयोग गरिदै आएको थियो, आज ती शासकवर्गहरुले नै यसलाई नबुझ्ने स्वाङ पारेर संसद, सडक र पत्र-पत्रिकाहरुमा छाइरहेका छन् । आफूले पढेको किताबमा नेपालमा हिमाल, पहाड र तराई भनेर तीन क्षेत्र मात्र भएको र त्यही आधारमा नै ‘मधेश’ नेपालमा नै नभएको जस्ता हास्यास्पद दाबी गर्ने केही व्यक्तिहरु पनि संसद र संविधान-सभामा पुग्न थालेका छन् । विद्यालयको किताब कै कुरा गर्ने नै हो भने पनि म उहाँहरुलाई त्यही किताबको पूराना संस्करणहरु हेर्न अनुरोध गर्न चाहन्छु । तपाईंले पहिलेका किताबहरु हेर्नु भयो भने नेपाललाई ‘हिमाल, पहाड र मधेश’मा विभाजन गरेको पाउनुहुनेछ । ‘तराई’ नै लेखिएको ठाउँमा पनि कोष्टमा ‘मधेश’ वा ‘भित्री र बाहिरी मधेश’ भनेर लेखेको पाउनुहुनेछ । त्यसै गरी विर्ता उन्मूलन ऐन र मुलुकी ऐन जस्ता कैयन ऐतिहासिक र कानूनी दस्तावेजहरुमा नेपाललाई ‘भोट, पर्वत र मधेश’ भनेर विभाजन गरेको पाइन्छ, भने अन्य कुनै-कुनै ऐतिहासिक दस्तावेजहरुमा बूगार्ट (1984:The Formation of the Concept of Nation State in Nepal) ले भने झैं ‘ह्‌युँददेस, पहाडदेस र मदेस’ भनेर छुट्टयाइको पाइन्छ । ‘तराई’ शब्दको प्रयोग त सन् १९५० पछि लादिएको शिक्षा-निती र भाषिक-अतिक्रमणद्वारा बढी प्रचलनमा ल्याइएको हो । त्यस अगाडीको कुनै पनि ऐतिहासिक दस्तावेजहरु र प्रशासनिक-लेखाहरु हेर्नु भयो भने ‘मधेश’ शब्दलाई नै प्राथमिक रुपमा प्रयोग गरेको देखिन्छ । यसरी, नेपालका ऐतिहासिक दस्तावेजहरुमा लाखौं ठाँउमा अमिट रुपमा रहेको त्यो ‘मधेश’लाई एउटा स्कूलको किताबको आड लिएर नदेखेको स्वाङ पारी तिनीहरु कहिले सम्म यथार्थ देखि भाग्न सक्छन् ?

यद्यपि ‘मधेश’ को इतिहास वैदिक युग जतिकै पुरानो भए पनि यहाँ आधुनिक नेपालको स्थापना कालदेखिको चर्चा मात्र गरिन्छ। नेपालको दक्षिणी-भूभागका लागि ‘मधेश’ शब्दको प्रयोग शासकवर्गहरुद्वारा पनि आधुनिक नेपालको स्थापनाकाल देखि नै हुँदै आएको हो । उदाहरणका लागि पृथ्वी नारायण शाहले भगवन्त नाथलाई लेखेको पत्रमा सीमालाई ‘मधेश मा कन्काई नदी सम्म र पहाडमा हर्षवर्धन-खोला र तमोर नदी सम्म पुर्‌याइको कुरा उल्लेख छ । त्यसै गरी पृथ्वी नारायण शाहले आश्विन बादी १०, १८१८ सालमा गरेको घोषणामा नेपालको ‘मधेश मा सबै जातसँग विर्ता भएको र उपाध्यय ब्राह्मणलाई धर्मको आधारमा विर्ता दिने गरेको कुराको उल्लेख छ । यसरी ऐतिहासिक दस्तावेजहरुबाट हेर्दा नेपालको दक्षिणी भूभागका लागि शासक-वर्गहरुले पनि आधुनिक नेपालको स्थापनाकाल देखि नै ‘मधेश’ शब्दकै प्रयोग गर्दै आएका हुन् । र, त्यही भएर नेपालको दक्षिणी-भागका लागि ‘मधेश बन्दोवस्त अड्डा’, ‘कुमारीचोक मधेश पहिला फाँट’, ‘मधेश रिपोर्ट निक्सारी’ जस्ता प्रशासनिक एकाइहरु रहेका थिए ।

जनआन्दोलन-२ पश्चात कसै-कसैले नेपालको पूर्वी-तराई भागलाई मात्र ‘मधेश’ भनिने भ्रम पनि फैलाउने गरेका छन् । माओवादीहरुले प्रस्तावित गरेको संघीय राज्य-संरचनामा समेत पूर्वी-तराईलाई मात्रै मधेश भनेर छुट्टयाइको छ । आधुनिक नेपालको स्थापनाकाल देखि नै नेपालको सम्पूर्ण तराई क्षेत्रलाई ‘मधेश’ भनिने कुरा सर्वविदित हो र ऐतिहासिक दस्तावेजहरुले पनि यही नै देखाउँदछ । ‘मधेश बन्दोवस्त अड्डा’, ‘कुमारीचोक मधेश पहिला फाँट’, ‘मधेश रिपोर्ट निक्सारी’ जस्ता प्रशासनिक एकाइहरुका शाखा-उपशाखाहरु नेपालको पूरै तराई क्षेत्र भित्र खोलिएका थिए, खाली नेपालको पूर्वी तराईमा मात्र होइन । विर्ता उन्मूलन, मुलुकी ऐन, शाही-आदेश र प्रशासनिक-लेखाका अन्य दस्तावेजहरुले पनि यही कुराको पुष्टि गर्दछ । उदाहरणका लागि, भेरी देखि पश्चिम र महाकालीदेखि पूर्व क्षेत्रको विर्ता उन्मूलन (१८६२) सम्बन्धी नियमावलीमा भेरी-महाकाली क्षेत्रकोमधेश, भोट (हिमाल) र पर्वतका लागि सुवेदार पुरन शाही, लक्ष्मीदास पन्त, कर्ण सिंह खवस र उपेन्द्र सिंहलाई अधिकार सुम्पेको कुराको उल्लेख छ । त्यसै गरी सुब्बा चन्द्रवीरलाई लेखिएको शाही-पत्रमा उसलाई तत्कालीन डोटी क्षेत्रको मधेश, पहाड र भोट (हिमाल) क्षेत्रका लागि नरऊ शाहीका बदलामा नियुक्त गरिएको कुरा उल्लेख छ । अझ, राजा राजेन्द्रले विजयनाथ जोगीलाई ज्येष्ठ सुडी ९, १८९५ सालमा लेखिएको शाही-पत्रमा तत्कालीन प्यूठान क्षेत्रको मधेश र पहाड क्षेत्रको भेटी र दस्तुरको कुरा उल्लेख छ । यसरी पश्चिम नेपालको तराई क्षेत्रलाई पनि ऐतिहासिक कालदेखि नै ‘मधेश’ नै भनिदै आएका हुन् । तसर्थ, पूर्वी तराई मात्र नभई, पूर्व देखि पश्चिम सम्मको सम्पूर्ण तराई क्षेत्र ऐतिहासिक काल देखि नै ‘मधेश’ रहदै आएको हो । पूर्वी तराईलाई मात्र ‘मधेश’ भन्ने कुरा जनआन्दोलन-२ पश्चातको मधेशलाई टुक्र्याउने नौलो षडयन्त्र मात्र हो ।

नेपालको मेची देखि महाकाली सम्मको दक्षिणी भूभागलाई मात्र होइन, तत्कालीन नेपालको सबभन्दा पश्चिममा रहेको कुमाउँ-गढवाल सम्मको समतल भूमि समेतलाई पनि ऐतिहासिक दस्तावेजहरुमा ‘मधेश’ नै भन्ने गरिएको छ । उदाहरणका लागि गढवालमा सूरवीर खत्री र रणवीर खत्रीलाई सुब्बामा नियुक्त गर्दै आषाढ बादी २, १८८२ सालमा लेखिएको शाही-पत्रमा ‘गढवाल क्षेत्रकोमधेश, पहाड र भोट (हिमाल-प्रदेश) को एक-तिहाइको’ सुब्बा नियुक्त गरिएको कुरा उल्लेख छ ।

तसर्थ, ऐतिहासिक दस्तावेज र प्रमाणहरुबाट निम्न कुराहरुको निष्कर्ष निकाल्न सकिन्छ ।

(१) ‘मधेश’ भन्ने शब्द ऐतिहासिक-काल देखि नै नेपालको दक्षिणी भू-भागका लागि प्रयोग हुँदै आएको हो ।

(२) ‘मधेश’ ले नेपालको पूर्वदेखि पश्चिमसम्म सम्पूर्ण तराई क्षेत्रलाई समेट्दछ ।

(३) सन् १९५० अगाडी सम्पूर्ण प्रशासनिक काम-कारबाई समेतका लागि पनि ‘मधेश’ शब्द नै प्राथमिक रुपमा प्रयोग गरिन्थ्यो ।

(४) ‘तराई’ शब्दको प्रयोग सन् १९५० पछि लादिएको शिक्षा-निती र सांस्कृतिक-अतिक्रमणद्वारा प्रचलित गराइएको हो र यसको प्रयोग आधुनिक हो ।

नेपालको दक्षिणी-क्षेत्रलाई तराई भनियोस् या मधेश या अन्य कुनै नयाँ नाम नै किन न राखियोस् तर अहिलेको लागि सबभन्दा महत्वपूर्ण कुरा यस क्षेत्रको अखण्डता हो । अहिले तराई र मधेशको अर्थ भेदमा अल्झिने समय होइन, वरू ऐतिहासिक, सांस्कृतिक, सामाजिक र भाषिक सूत्रमा अटूट रुपमा बाँधिएका यस क्षेत्रका बासिन्दालाई कुनै पनि राजनीतिक षड्यन्त्रद्वारा खण्ड-खण्डमा विभाजित हुन नदिएर पहाडी शासक-वर्गको शोषणको चक्रबाट बचाउने समय हो । यदि पहाडी शासक वर्गको ‘डिभाइड एण्ड रुल’ को नीति सफल भई यो क्षेत्र विखण्डित भयो भने यहाँका वासिन्दाहरु सम्भवत: सधैंका लागि दासमय जीवन बिताउन बाध्य हुन पुग्नेछन् ।

सवा दुई सय वर्षको पहाडी शासनकालमा यहाँका लाखौं वासिन्दाहरुलाई सुनियोजित षडयन्त्रद्वारा विस्थापित गरिए, लाखौंको जमीन हडपेर त्यहाँ पहाडी शासकवर्गलाई बसाइए, हजारौलाई कमैया बनाई पुष्तौं सम्म दास-सरह जीवन व्यतीत गर्न बाध्य बनाइए । अब जागृत भएर यस क्षेत्रका बासिन्दाहरु आफ्नो अधिकार लिने स्थितिमा पुग्दा खेरि पहाडी शासकवर्गहरुले ‘डिभाइड एण्ड रुल’ को षड्यन्त्र रच्दै यस क्षेत्रमा अझै आफ्नो कब्जा कायम राख्न खोज्दै छन् र यस क्षेत्रका बासिन्दालाई संधै झै अधिकार-विहीनको दासतामै सिमीत गर्न खोज्दैछन् । रातारात कसरी र किन चुरे-भावर खडा भयो र दशकौं सम्म संघर्ष गरेर पनि नमिल्ने स्थान संचारमाध्यमहरुमा तिनीहरुले कसरी राता-रात पाउन थाले भन्ने कुरा कुनै रहस्य होइन । प्रत्यक्षतिर एउटै उम्मेदवार सम्म जित्न जनताको समर्थन नभएका चुरे-भावरलाई नेपाली संचारमाध्यम र छापाहरुले कसको इशारामा निरन्तर फराकिलो स्थान दिइरहेको छ र त्यसको के उद्देश्य हो, यो पनि भनी राख्नु पर्ने कुरा होइन । त्यसरी नै, संविधानसभामा थारु सदस्यले नै अगुवाइका साथ ल्याएको प्रस्तावका विरूद्ध दुई-चारजनालाई सडकमा उत्रन कसले उचालेका हुन् र त्यसलाई छापाहरुमा ठूलो समाचार बनाएर किन प्रस्तुत गरिन्छ, भन्ने कुरा पनि राजनितीको कखरा जान्नेले पनि बुझ्न सक्दछन् । नेपालका लगभग सम्पूर्ण संचारमाध्यमहरु शासकवर्गकै हातमा रहेको कुराको फाइदा उठाउँदै तिनीहरुले इतिहासलाई पूर्णरुपमा वेवास्ता गर्दै मधेशका बारेमा भ्रमपूर्ण र आधारविहीन लेखहरु प्रकाशित गरेर ‘प्रोपगेण्डा वार’ नै शुरु गरेका छन् । आफ्नो अस्तित्वनै खतरामा रहेको यस परिस्थितिमा मधेशका जनता र नेताहरुले नै सावधान भई आफ्नो निजी स्वार्थलाई त्यागेर यस क्षेत्रको अखण्डतालाई बचाउन र आफ्नो भावी सन्ततिलाई एउटा दासताबाट मुक्त जीवन दिनका लागि हरसम्भव प्रयास गर्नुपर्दछ ।

Advertisements

Entry filed under: Uncategorized.

रोष्ट्रममा तातेको मधेस Tharu Ra Swayat Madhes

5 Comments Add your own

  • 1. Sujit Kumar Thakur  |  July 4, 2008 at 2:48 pm

    Perfectly Balanced facts. I think madhesi intellectuals should come forward with such articles and that has to be circulated amongst all Nepalese to have a clearer picture of the nation. We need to counter the Propaganda War initiated by dishonest politicians …..

  • 2. madhesi putra  |  July 5, 2008 at 1:12 am

    well written
    we do need to counter the propaganda war
    someone give a go

  • 3. आकार  |  July 5, 2008 at 4:25 pm

    this is the most biased article… that i’ve ever read…
    An issue published by BBC History Magazine (july 2008):-

    “Its (Nepal’s) predominantly mountainous terrain (and associated low agricultural potential) made the territory unattractive to 19th century British empire buliders. The challenging topography meant that occupying Nepal would have been militarily and administratively expensive, while the low agricultural potential meant that tax revenues to cover those expenses would have been inadequate. What’s more the mountainous terrain (and resulting poor communications), together with the poor resources, helped create an ethnically diverse society in which localised warfare and raiding was a way of life. This in turn, led to the development of deeply rooted warrior traditions. Indeed, local fighting prowess was another reason that the British avoided colonising Nepal.”

    -१ हजार किलोमिटर लम्बाइ र २५-३० किलोमिटर चौडाइ हुने “एक मधेस एक प्रदेश” को कुरा भौगोलिक अनि प्रशासनिक रुपमा असम्भव छ ।
    -तराईको सम्पूर्ण समतल भू-भाग एउटा प्रदेश अनि पहाडि क्षेत्र अरु प्रदेश हुन असम्भव छ । साथै, तराई को समतल भूमी “मधेस” हुँदै होइन ।
    -इतिहासमा पनि मधेस राज्य थिएन, विगतका विभिन्न कालखण्डमा थियो त केबल मिथिला, तिरहुत, अबध र भोजपुरी राज्य ।
    -साँस्कृतिक रुपमा हेर्ने हो भने, तराई मा कुनै मधिसे सँस्कृति छैन बरु मिथिला,भोजपुरी, अबधी तथा मुस्लिम सँस्कृतिहरु छन् ।
    -मधेसी भाषा भनेर किटान गरिएको कुनै भाषा छैन, तराईमा छ त केबल मैथली, भोजपुरी, अबधि तथा नेपाली भाषा । दर्जन भन्दा बढि विभिन्न थरीको भाषा बोल्ने समुदाय रहेको तराईलाई “एक मधेस एक प्रदेश” बनाउनु पुर्णतया असान्दर्भिक छ ।
    -“एक पहाड राज्य” नभएजस्तै “एक मधेस राज्य” पनि हुँदैन ।
    -पूर्व मेची देखि पश्चिम महाकाली सम्म ठाउँअनुसार जातजाती, सँस्कृति, रितिस्थिति, बोलीचाली फरक छ ।
    -आर्थिक रुपमा हेर्दा करिब ७० प्रतिशत कलकारखाना तराइमा छन् र देशको करिब ४८ प्रतिशत जनता तराइमा बस्छन् । अत: पहाड र हिमाललाई वाइपास गरेर तराईलाई “एक मधेस एक प्रदेश” बनाउन सकिँदैन ।
    -हाम्रो देशको राजनितिलाई दिल्ली ले असर गर्ने गरेको छ, अत: “एक मधेस एक प्रदेश” को नारामा भारतको हात छैन भन्न सकिँदैन । यो मधेसीको भन्दा पनि भारत को एजेण्डा हो। (“Take at first only half” policy of RAW in contrast to “take whole” policy used in the past in case of Sikkim and Bhutan)
    -सबै मधेसी, जातजाती बराबर अधिकार चाहन्छन्, समानता चाहन्छन्, सबैलाई नेपालीहुनुमा गर्व छ । मधेसीहरु समानता र सम्मानका लागि लडेकाछन् तर ग्यारेन्टि गर्न सकिन्छ, मधेसी जनताहरु “एक मधेस एक प्रदेश” का बारेमा अनभिज्ञ छन् र “एक मधेस एक प्रदेश” चाहँदैनन् पनि । यो त माथिका नेताहरु अरुको ईशारा मा चम्केका मात्र हुन् ।

  • 4. आकार  |  July 7, 2008 at 10:30 pm

    hahahaha………… चुरे भावर रातारात हैन, दिनमै गठन भएको हो, अनि मधेसी संगठनले देखाएको बर्बराता का कारण चुरे भावर को गठन हुनु परेको हो ।
    “सवा दुई सय वर्षको पहाडी शासनकालमा यहाँका लाखौं वासिन्दाहरुलाई सुनियोजित षडयन्त्रद्वारा विस्थापित गरिए, लाखौंको जमीन हडपेर त्यहाँ पहाडी शासकवर्गलाई बसाइए, हजारौलाई कमैया बनाई पुष्तौं सम्म दास-सरह जीवन व्यतीत गर्न बाध्य बनाइए ।”
    यस्तै खालका भ्रमपुर्ण कुराहरु मधेसीसंगठनहरु ले प्रवाह गर्ने भएका कारण तराईमा बसोबास गर्ने धैरै पहाडिया मुल का नेपाली जनताहरु विस्थापित हुन बाध्य बनाइए, तिनले मधेसी को के नराम्रो गरेका थिए ???
    आफ्नो जातिय पहिचान मा नै आँच आउने गतिबिधि हुनथाले पछि, भावर को गठन हुनु केहि नौलो होइन । अनि त्यसक्षत्र का जनताको लागि भावर को एउटै प्रतिनिधि को आवाज काफि छ ।

  • 5. Sujit Kumar Thakur  |  July 9, 2008 at 6:38 am

    If Once all Madhesi will finally chose the way of conrontation, there would not be even fossils of Chure Bhawar. Anybody who wants to discuss the authencity of madhesis in Nepal should fisrt get deeper into historical facts else there is no treatment for obstinacy.
    I do not and never support any violence against anybody who soever but again I can’t be a coward. As Mahatma Gandhi Famously said if I am to chose one between Violence and Cowardness, I will chose Violence.
    Madhesis have been dongraded in their own motherland and that has continued for centuries. Now it is a time for restructure of state, it is time for all of us to reconcile. I know there would be differences in adopting new structure but again there is no alternative if we really wish to see Nepal blooming. We love our motherland not less than any other patriotic Nepali, but why always we have to pass the litmus test? Why always stupid authorities question our authencity and integrity? If a person of Hilly origin works for Indian Army , resides there, live all his life there, he is still considered a Nepali.But we are always seen from a different prospective. Is the similarities in look and culture with Indians the reason, if it is then we had enough of it and we are not ready to tolerate.
    A Prashant Tamang who is an Indian National , has Indian passport is welcomed to Nepal open handedly while some orthodox and so called patriotic Nepalese questions Udit Narayn’s Nationality.Udit Narayan who is a Nepali by birth and is Nepali by soul. what is the answer from all my dear friends who adher to pseudo nationalism for this kind of discrimination ??

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Celebration of 1,00,000

Madhesi Voice

United We Celebrate

People Celebrating faguwa (Holi), with the fun of music, quite popular among Terai people. Holi is celebrated each year on the eve of falgun purnima Faguwa (Holi) Celebration

Past Posts

Archives

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 47 other followers


%d bloggers like this: